Tuesday, November 7, 2017

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु


कात्तिक २१  । नुवाकोटको तादी गाउँपालिका वडा नं ४ स्थित सुन्दरादेवीको बाह्रबिसेमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नं. को एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका २४ वर्षिय सन्दीप भारतीको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ । दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य दुई जना सम्पर्कमा नआएकोले घटना रहस्यमुलक रहेको र अनुसन्धान जारी रहेको विष्टले जानकारी दिनुभयो ।

Monday, November 6, 2017

परिवर्तन संस्थागत गर्न कांग्रेसको जित आवस्यक–डा. महत

नुवाकोट सन्देश समाचारदाता
विदुर, कार्तिक २० गते ।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा रामशरण महतले मूलुकमा भएको परिवर्तन संस्थागत गरी दिगो आर्थिक विकासका लागि नेपाली कांग्रेसको विजय आवस्यक रहेको वताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको छहरे, लिखु, चिसापानी लगायत स्थानमा चुनावी भेटघाट र सम्बोधनमा रहेका डा महतले   लोकतन्त्र, बहुलवाद, जनताका अधिकार, महिला तथा जातजातिका अधिकार, सामाजिक न्याय लगायत आर्थिक परिवर्तन र रुपान्तरणका लागि नेपाली कांग्रेसको विकल्प नरहेको वताएका हुन् ।
नुवाकोटको आर्थिक, सामाजिक विकासमा आफू सँधै क्रियाशिल रहेको स्मरण गर्दै नेता डा महतले लिखु, खानीगाउँ, चौघडा, लगायत क्षेत्रमा आफ्नो पहलमा विकासका पूर्वाधारहरु वनेकैले यस क्षेत्रको आर्थिक सामाजिक विकास लोभलाग्दो देखिएको वताए । वर्तमान वाम गठवन्धन सत्ता र शक्ति प्राप्तीका लागि मात्र भएको भन्दै डा महतले कम्युनिष्टबाट आर्थिक सम्बृद्धी सम्भव नरहेको वताए । नेता महतले भने –‘ एमाले र माओवादीहरु संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक नीति जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन । यो लोकतन्त्रका लागि ठूलो खतरा हो । विश्व राजनीति तथा आर्थिक परिवेशमा आएको परिवर्तनलाई उनीहरुले मनैदेखि स्वीकारेको देखिएन ।’
जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग तपस्या, बलिदान गरेको उल्लेख गर्दै नेता महतले  यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी दश बर्ष्भित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने , ‘जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्ने छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिँदैनन् । तर गठबन्धनभित्रको अन्तर्यका बारेमा जनतालाई स्पष्ट कुरा भनिदिनुपर्छ ।’
नेता महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । उनको भनाई थियो, सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं । हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ । तथ्यांक पेस गर्दै उनले भने – ‘उदार आर्थिक नीति अवलम्वन गरी स्वदेशी विदेशी पुँजी आकर्षित गरिएपछि अर्थतन्त्रमा ठूलो विस्तार आएको छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, विमान कम्पनी, सञ्चार सेवा, सडक यातायात, शुद्ध खानेपानी, विजुलीबत्तीमा पहुचमा विस्तार आएको छ । आर्थिक गतिविधिमा आएको विस्तारसँगै राजस्व असूली बढेको छ । ४८ सालमा वार्षिक १२ अर्बको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको छ । ४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको छ । सेवा विस्तारसँगै जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव भएको हो । ’
त्यसक्रममा कांग्रेसका प्रभावशाली नेता महतले नुवाकोटको समग्र विकासमा कम्युनिष्टको कुनै योगदान नरहेकाले आगामी निर्वाचनमा पनि नुवाकोटको विकासको सारथी नेपाली कांग्रेसले सबै क्षेत्रमा गर्विलो जित हासिल गर्ने बताए । ‘विपक्षीहरु अझै पनि कांग्रेस भित्र विवाद भए जितिएला भन्ने मृगतृष्णा पालिरहेका छन् । तर, नुवाकोटको कांग्रेस सम्पूर्णरुपमा एकताबद्ध रहेकाले उनीहरुको सपना सपनामै सीमित हुनेछ’, नेता महतको थप भनाइ थियो ।

Saturday, November 4, 2017

कांग्रेस नेता केसी भेटघाटमा


नुवाकोट सन्देश समाचारदाता
विदुर, कार्तिक १८ ।
मंसिर १० को निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधीसभा तथा प्रदेश सभाका उमेदवारहरुले घरदैलो र राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् ।
नुवाकोट क्षेत्र नं २ का कांग्रेस उमेदवार अर्जुन नरसिंह केसीले शुक्रवारबाट भेटघाटलाई तिब्रता दिएका छन् । उमेदवार चयनका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले गठन गरेको संसदीय बोर्डको सदस्य रहेका कारण दोश्रो चरणको निर्वाचनका लागि उमेदवार चयन गर्न राजधानीमा नै ब्यस्त रहेका केसी उमेदवारी चयनको काम सम्पन्न भएसँगै जिल्ला आएर राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् । सदरमुकाम विदुरस्थित निजी नीवासमा केसीले शनिवार मात्रै जिल्लाका उद्योगी, ब्यापारी, वोद्धिक वर्ग, संचारकर्मी लगायत सँग छलफल गरेका छन् । भेटघाटका क्रममा नेता केसीले संविधान कार्यान्वयन र दिगो आर्थिक विकासका लागि नेपाली कांग्रेसले मुलुकको नेतृत्व गर्न जरुरी रहेको भन्दै लोकतान्त्रिक शक्तिलाई विजयी गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रेस युनियन आवद्ध संचारकर्मीसँगको भेटघाटमा नेता केसीले जिल्लाको विकास निर्माणमा आफूले गरेका कामहरुको स्मरण गर्दै जिल्लालाई सम्मुन्नत जिल्लाको रुपमा स्थापित गर्न आफू चुनावी मैदानमा आएको वताएका छन् । जिल्लाका संचारकर्मीहरुले राष्ट्रिय÷अन्तराष्ट्रिय छवि भएका नेताको उमेदवारीबाट यस क्षेत्रका नागरिक उत्साही रहेको धारणा ब्यक्त गरे । केसीले आजै विदुर नगरक्षेत्रका उद्योगी, ब्यापारी र युवाहरुसँग पनि भेटघाट गरेर चुनावी अभियान अघि बढाएका छन् ।
यसअघि तत्कालिन नुवाकोट क्षेत्र नं १ बाट लोकप्रिय मतका साथ विजयी भएका केसी क्षेत्र पुनरसंरचना सँगै क्षेत्र नं २ बाट प्रतिनिधीसभा उमेदवार बनेका हुन् । केसी क्षेत्र नं ३ बाट पनि यसअघि विजयी नेता हुन् ।


Thursday, November 2, 2017

डा महतद्धारा काठमाण्डौं ५ मा उमेदवारी, कार्यकर्ता तथा शुभचिन्तक उत्साही

नुवाकोट सन्देश संवाददाता
काठमाण्डौं । कार्तिक १५ गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले काठमाण्डौ क्षेत्र नं ५ वाट उमेदवारी दिनुभएको छ । मंसिर २१ म हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेता महतले त्यस क्षेत्रबाट उमेदवारी दिुनुभएको हो ।
उमेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका महतको साथमा कांग्रेसका सयौ नेता कार्यकता तथा शुभ चिन्तक रहेका थिए । उमेदवारी दर्ता गर्दै डा महतले देशमा संविधान जारी भई कार्यान्वयन भईसकेको अवस्थामा अव आर्थिक संवृद्धीको वाटोमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । डा महतले हरेक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसले नै आर्थिक सम्वृद्धीको नेतृत्व पनि गर्ने वताउनुभयो ।
उहाँले आफु क्षेत्र नंं. ५ को समग्र विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।  डा. महतले क्षेत्र नं. ५ मा रहेका ऐतिहासिक एंव धार्मिक मठमन्दिर, जात्रा र पर्वहरुको संरक्षण र संर्बदनमा आफुले महत्वका साथ काम गर्ने समेत बताउनुभयो । उहाँले क्षेत्र नं. ५ का जनता लोकतन्त्र प्रति प्रतिबद्ध रहेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न आब्हान गर्नुृभयो । त्यस अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रिय सभापति रमेश खड्काले लोकतान्त्रिक मुल्य मान्यता जोगाउन पनि कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । उहाँले क्षेत्र ५ ले सक्षम नेतृत्व उम्मेदवारका रुपमा पाएका कांग्रेस जित सुनिश्चित भएको विश्वास ब्यक्त गर्नुभयो । 
नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्य विजयी हुँदै आउनुभएको यस क्षेत्रमा हाल आचार्य विरामी हुनुभएकोले डा महत निर्वाचनमा उठ्नुभएको हो । डा महतको उमेदवारी दर्ताका क्रममा भेला भएका काठमाण्डौं क्षेत्र नं ५ का नेता कार्यकर्ताले यस क्षेत्रमा नरहरी आचार्य जस्तै निष्ठावान र वौद्धिक नेताको आगमन भएको भन्द्र खुसीयाली ब्यक्त गरेका छन् ।

नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउँछौँः केशव पाण्डे, नेता, एमाले

नेकपा एमालेका नेता केशव पाण्डे यही मंसिर १० मा हुने प्रदेशसभाको निर्वाचनमा नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पाण्डेको जित निश्चित छ । स्थानीय निर्वाचनमा जिल्लोको ठूलो पार्टी बनेको एमालेको स्थानीय तहसम्मको संगठन बलियो रहेको र पार्टी एजेण्डा राष्ट्रिय समृद्धि भएकाले आफूले चुनाव जित्नेमा पाण्डे ढुक्क छन । फेरी नुवाकोटलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पाण्डेले केही समयअघिदेखि नै गरेको पहल सार्थक बनाउन पनि जनताले मत दिनेमा उनी विश्वस्त छन । आगामी निर्वाचनको तयारी लगायतको विषयमा आजकोन्युजले पाण्डेसँग गरेको कुराकानी ।

चुनावी अभियान कसरी अघि बढिरहेको छ ? 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवारी दिएका छाैँ । यसको पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नं. २ स्तरीय कार्यक्रम पनि बान्द्रेमा गरिसकेका छौँ । अहिले हामी घरदैलो, गाउँपालिकास्तरीय भेला, प्रशिक्षण, भेटघाटजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विस्तारै विस्तारै चुनावी आमसभामा केन्द्रीत हुँदै दुई पार्टीवीचको गठबन्धन भएकाले संयुक्त भेला निर्वाचन परिचालक कमिटि गठन लगायतका कार्यक्रम गरिरहेका छौँ ।

तालमेल गरेर चुनावमा उत्रिदा कार्यकर्ताको मनोभावना कस्तो पाउनुभयो ? 
कार्यकर्तामाझ अत्यन्त उत्साह रहेको छ । यो उत्साह नागरिक तहसम्म पुगेको छ । कार्यकर्ता तहमा कसरी व्यवस्थापन हुन्छ भन्ने अन्योलमा कता कता भएको हुन सक्छ । त्यो पनि शिर्ष नेताहरुले टुंग्याउने कुरा भयो ।
22788648_10154703405261910_3573076883063410789_n
उत्साह हुनुपर्ने कारण त्यस्तो केही छ र ? 
नेपाली नागरिकहरुको कम्युनिष्टहरु एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने लामो समयदेखिको चाहना हो । तर, विविध कारणवस यो कुराले निरन्तरता पाउन सकेको थिएन । अहिले दुई प्रमुख घटकहरु एक ठाउँमा उभिएका छन् । त्यसैले नागरिकहरु सबैभन्दा खुशी छन् । दोस्रो कुरा नेपालमा परिवर्तनको नेतृत्व गर्ने पार्टी नै कम्युनिष्ट पार्टी हुन् । यो कुरा नागरिकलाई थाहा छ । बाहिरी प्रचारमा जे भएपनि फिल्डमा खट्ने, लाग्ने पार्टी कम्युनिष्ट पार्टी हो यो पार्टीले नै परिवर्तनकोनेतृत्व गर्न सक्छ भन्ने कुरा आम नागरिकलाई राम्रोसँग थाहा छ । तेस्रो कुरा प्रगतीशील फड्को मार्ने देशमा विकास निर्माण र सामाजिक सुरक्षासम्मको कुरामा अग्रगामी कुरामा कम्युनिष्ट पार्टीले मात्र अग्रगामी दृष्ट्रिकोण अगाडि सारेको छ । यसले मात्र यसको नेतत्व गर्न सक्छ भन्ने कुरा थाहा छ । चौथो कुरा हामी ६÷६ महिनामा सरकार परिवर्तन गर्ने प्रवृत्ति रहेको छ । त्यसमा पनि बाह्य हस्तक्षेप रहने कुरा छ । नेपाली जनता त्यसको अन्त्य गर्न चाहन्छन् । दीगो सरकार गठन गर्नेए र बाह्य हस्तक्षेप विरुद्ध यो एकता र गठबन्धनले अन्त्य गर्नेछ । पाँचौ कुरा राष्ट्रियताको सवालमा डटेर कुरा गर्ने वकालत गर्ने, राष्ट्रिय मुद्दामा एकजुट भएर अघि बढ्ने पार्टी नै कम्युनिष्ट हुन् । त्यसैले यिनीहरु मिल्दा राष्ट्रिय स्वाधिनता, अखण्डतामा सार्वभौमिकताको रक्षा हुन सक्छ भन्ने नागरिकले प्रत्यक्ष महसूस गरेका छन् । त्यसकारण नागरिकहरु इो गठबन्धनको पक्षमा छन् ।

चुनावी कार्यक्रम लिएर गाउँगाउँमा पुग्दा नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ? 
उहाँहरुको शुभेच्छा, शुभकामना मैले प्राप्त गरेको छु । तपाईहरु लाग्नुस् यसलाई सकारात्मक रुपमा अघि बढाउनुहोस् भन्ने शुभेच्छा रहेको छ । सँगसँगै प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै हुन लागेको छ । प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुने र हामी गठबन्धन बनाएर अघि बढिरहँदा निर्वाचनमा मतदान गर्ने कुरामा केही कन्फ्यूजहरु छन् । कसरी मतदान गर्ने के गर्ने, हाम्रो मत बदर त हुँदैन भन्ने कन्फ्युज छन् । यसलाई चुनावको क्रममा हटाएर लैजाने छौँ । अर्को कुरा विकास निर्माणमा यो तालमेलले थप टेवा पु¥याओस् र पहिलेजस्तो जितेर जाने र जनताको काम नगर्ने, मन्त्री बन्ने अनि नफर्कने कुरामा स्थिति नबनोस् र यी कुराहरुलाई चिर्न गठबन्धन सचेत भएर अघि बढोस् भन्ने चाहना रहेको छ ।

यो तालमेलप्रति कतिपय कार्यकर्ता र नागरिकहरु संसय व्यक्त गरिरहेका छन् नी ? एकता गाह्रो छ, दीर्घकालीन रुपमा एकता सम्भव छैन भन्नेहरु पनि छन्, के भन्नु हुन्छ ? 
केही भ्रम हुनु स्वभाविकै थियो । एकताका निम्ति, चुनाव आइसकेको थियो , त्यस्तो अवस्थामा हामीसँग दुई वटा बाटाहरु थिए । एउटा तत्काल एकता घोषणा गर्ने अनि निर्वाचनमा जाने । अर्को निर्वाचनमा सँगै जाने । निर्वाचन नजिकै आइसकेकोले तुरुन्त एकताको घोषणा गरेर जाँदा धेरै कुराहरु मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले त्यो त्यति सम्भावना थिएन । त्यसैले यी दुई वटा पार्टीहरुमा चुनावी तालमेल गर्ने र यो तालमेलाई चुनाव पछि पार्टी एकीकरणमा लगेर टुंग्याउने सहमति भएको छ । यस विचमा के प्रयाससम्म भयो भने हामी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उभिने कुरा पनि भयो । तर, यो कानुनी रुपमा त्यति सहज भएन र फरक फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छौँ । यसको मुल उद्देश्य भनेको पार्टी एक बनाउने नै हो । यसमा कुनै संसय छैन । पार्टी पंक्तिमा जुन उत्साह देखिएको छ यसले पार्टी एकता हुन्छ भन्ने कुरामा ढुक्क नै छ ।

एजेण्डगत हिसावमा त एमाले र माओवादी फरक फरक बाटोमा हिँडिरहेका छन् यसको समायोजन कसरी हुन्छ ? 
हो, मुल कुरा विचार र सिद्धान्तको कुरा हो । नेकपा एमालेले अंगिकार गरेको बहुदलीय जनवाद हो । यसलाई हामीले हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त भनेका छौँ । र माओवादी केन्द्रले अंगिकार गरेको एक्काइसाँै सताब्दीको जनवाद हो । यसका वीचमा खासै भिन्नता छैन । हामीले हिजो अस्तीमै भनेका थियौँ, जवजकै अर्को रुप हो । तर यसमा व्यवहारिक रुपमा सांगठानिक रुपमा केही फरक छन् । तत्कालीन कार्यनितिको बारेमा केही फरक पाटाहरु छन् । तत्कालीन समयमा जनयुद्धको आवश्यकता छैन, शान्तिपूर्णआन्दोलनको माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने एमालेको धारणा थियो, अन्तत माओवादीले त्यही ग¥यो । त्यसकारण यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । यसमा नेतृत्व पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा केही चुनौती छ । पार्टी एकीकरणका बेला यी सबै कुराहरु मिलाएर अघि बढ्छौँ ।

प्रसंग बदलौँ, नुवाकोटमा प्रदेशसभातर्फ उम्मेदवारी दिनुभएको छ, तपाईका एजेण्डाहरु के के छन् ? 
अहिलेको मुख्य एजेण्डा भनेको संविधान कार्यान्वयन नै हो । घोषणा भएको संविधानको व्यवहारिक कार्यान्वयन गर्नको लागि निर्वाचन जरुरी थियो । निर्वाचन पछि पनि यसलाई सही ढंगले कार्यान्वयन गर्नको लागि कम्युनिष्टकै सरकार आवश्यक छ । संविधान बनाउन जसले ठूलो योगदान दियो, उसैले मात्र संविधानको रक्षा गर्न सक्छ । फलानो प्रधानमन्त्री भएको बेला संविधान जारी भयो भनेर भन्ने गरिएको छ , संविधान जारी गर्ने अभिभारा संविधानसभा अध्यक्ष (सभामुख) को हो । संविधानसभाका नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र सहमत नभएका भए के संविधान जारी गर्न सम्भव थियो ? त्यस्तो अवस्थामा फेरी पनि संविधान जारी नहुन सक्थ्यो । धेरै एजेण्डाहरुमा हामी सहमत भएर गएका छौँ । दोस्रो कुरा संविधानमै उल्लेख भएको छ, यो संविधान समाजवाद उन्मुख छ । समाजवाद कम्युनिष्टहरुको नारा हो । त्यसैले यसलाई सही ढंगले लागू गर्नको लागि हामीले जित्नु आवश्यक छ । तेस्रो कुरा समृद्धिको कुरा हो । यो हामीले नै अघि सारेका हौँ । एउटा राजनीतिक आन्दोलन सकिएको छ, अव देशले नयाँ फड्को मार्नुपर्छ, देश आर्थिक विकास र उन्नतीको दिशामा अघि बढ्नुपर्छ त्यसको लागि विकास निर्माणको आन्दोलन नै अहिलेको आवश्यकता हो । हामी यही नाराका साथ जनतामाझ गइरहेका छौँ ।
22815164_1637518712935462_6052657076367818186_n
नुवाकोटको सन्दर्भमा के के योजना छ ? 
नुवाकोटमा हरेक पटक मन्त्री नछुट्ने जिल्लाको रुपमा चिनिन्छ तर, हाम्रो विकास निर्माणको गति हेर्ने हो भने लाजमर्दो अवस्थामा हामी रहेका छाँै । झुट्टा आश्वसन दिएर चुनाव जितेर जाने र संसदमा फोहोरी राजनीतिक गर्नमा यहाँका केही पार्टीका नेताहरु लागे । परिणाम स्वरुप नुवाकोटको विकासले गति लिन सकेन । नुवाकोटमा विकास र नागरिकहरु समृद्ध भए भने हाम्रो राजनीति सकिन्छ भन्ने भ्रम पनि दलका नेताहरुमा पाइन्छ । नुवाकोट सम्भावना रहेको जिल्ला हो । नुवाकोटमा विकास गर्ने ठूला र धेरै अवसरहरु छन् । यी अवसरलाई सदुपयोग गर्नको लागि पनि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नु आवश्यक छ । पछिल्लो समय चीनसँगको सम्वन्ध र केरुङ नाकाको विकासका कारण नुवाकोट धेरै चर्चामा रहेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएको १६ बुँदे सहमतिले नुवाकोटले धेरै फाइदा लिन सक्छ । त्यसको लागि पनि हाम्रो नेतृत्व आवश्यक छ ।

अर्को हामीले एउटा अभियान सुरु गरेका छौँ । प्रदेश नं. ३ को राजधानी नुवाकोटमा बनाइनु पर्छ भनेर भनेका छौँ । नुवाकोट विभिन्न हिसावले राजधानी बन्न लायक छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ । यसको लागि थुप्रै तर्कहरु हामीले अघि सारेका छाँै । प्रदेशको राजधानी बनाउने कुरा गठबन्धनका उम्मेदवारहरुले जितेनन् भने यो कुरा यही टुंगिने छ । मध्यपहाडी लोक मार्गमा वेत्रावतिदेखि धादिङको बैरेनीसम्म स्मार्ट सिटी बनाउने कुरा छ । हामी यो क्षेत्रलाई स्मार्ट सिटी बनाउनको लागि प्रयास गरिरहेका छौँ । हुन त धादिङ बैरेनीलाई आधुनिक सहर बनाउने चर्चा चलेको छ, तर, मध्यपहाडी लोकमार्गले अहिले त्यहाँ छुँदैन, त्यसैले पनि हामी बैरेनीबाट त्रिशूली खोलाको किनारैकिनार बेत्रावतिसम्म स्मार्ट सिटी बनाउन सक्छौँ । यो प्रदेशसभामा पर्ने बेलकोटगढी र विदुर नगरपालिकाको विकासको लागि हाम्रो पार्टी वा गठबन्धनको महत्वपूर्ण योगदान हुने छ । साथै सदरमुकाम सम्म हरेक गाउँपालिकाबाट पक्की सडकले जोड्ने गाउँपालिका केन्द्रसम्म हरेक वडाबाट पक्की सडक सञ्जालको विकास गर्नेलगायतका थुप्रै कार्यक्रमहरु हामीले घोषणा गरेर चुनावमा मतदातामाझ गइरहेका छौँ ।

मन्त्रीहरु धेरै भए तर विकास भएन भन्नु भयो ? किन विकास भएन जस्तो लाग्छ ?
मैले अघि पनि भनेँ, जनतामाझ झुटो आश्वसन दिने अनि पूरा नगर्ने, अर्को कुरा विकास र समृद्धिको लागि सोच नै उनीहरुसँग भएन र विकास भएन । यदि सोच भइदिएको भए नुवाकोट राजधानीसँग जोडिएको जिल्ला कति चाँडो विकास हुन्थ्यो, सोच र भिजन भइदिएको भए । यो मैले बताइरहनु पर्दैन । यतिसम्मकी यहाँका नेपाली कांग्रेसका नेताहरु अरुले गरेको काम जस लिनलाई नाग टाँसेझँै पसल पसलमा टाँसेर जनता झुक्याउँदै आएका छन् । अर्थ मन्त्री विष्णु पौडेल हुँदा नुवाकोटमा पहिलेको तुलनामा २० गुना बढी योजना र रकमहरु परेका छन् । तर,यी योजनाहरुलाई विफल बनाउन कांग्रेसका मित्रहरु लागिरहेको पनि हामीले देखेका छौँ । यसको उदाहरणको लागि पात्ले दुईपीपल सडकको टेण्डर भइसकेको काम फिर्ता गराउने काम भएको छ । यसले पछिल्लो समय राजनीतिलाई फटाई गरेर जालझेल गर्नेहरुका कर्तुतहरु बहिर आइरहेका छन् । केपी शर्मा ओलीको पालामा १७ वटा ग्रामीण सडकको स्तरोन्नती र ११ वटा सिंचाई योजना परेका छन् । यसको लागि कुनै कांग्रेसका सांसदले गरेर बजेट परेको होइन, कसैलाई प्रमाण चाहिन्छ भने म दिन तयार छु । तर, कांग्रेसका सांसदहरु शिर्षक परिवर्तन गर्ने र गाउँ गाउँवीचमा टकराव सिर्जना गरेर योजनाहरु ध्वस्त बनाउने अभियानमा लागेका छन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?
नुवाकोटका मतदाता अव धेरै शिक्षित भइसक्नु भएको छ । कम्युनिष्ट सिद्धान्त र सरकारले मात्र देशलाई आर्थिक समृद्धि, दीगो शान्ति र परनिर्भरताबाट हामीलाई माथि उठाउन सक्छ भन्ने । आम नागरिकको हितको लागि काम गर्ने कम्युनिष्टहरु नै हो । पटक पटक हामीले गरेको सानो गल्तीका कारण हामी पछि परिरहेका छौँ । त्यसैले यस पटक सुर्य चिन्हमा मतदान गरी मलाईसहित बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन सबै मतदातालाई विनम्र अनुरोध गर्दछु ।