Thursday, November 2, 2017

नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउँछौँः केशव पाण्डे, नेता, एमाले

नेकपा एमालेका नेता केशव पाण्डे यही मंसिर १० मा हुने प्रदेशसभाको निर्वाचनमा नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पाण्डेको जित निश्चित छ । स्थानीय निर्वाचनमा जिल्लोको ठूलो पार्टी बनेको एमालेको स्थानीय तहसम्मको संगठन बलियो रहेको र पार्टी एजेण्डा राष्ट्रिय समृद्धि भएकाले आफूले चुनाव जित्नेमा पाण्डे ढुक्क छन । फेरी नुवाकोटलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पाण्डेले केही समयअघिदेखि नै गरेको पहल सार्थक बनाउन पनि जनताले मत दिनेमा उनी विश्वस्त छन । आगामी निर्वाचनको तयारी लगायतको विषयमा आजकोन्युजले पाण्डेसँग गरेको कुराकानी ।

चुनावी अभियान कसरी अघि बढिरहेको छ ? 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवारी दिएका छाैँ । यसको पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नं. २ स्तरीय कार्यक्रम पनि बान्द्रेमा गरिसकेका छौँ । अहिले हामी घरदैलो, गाउँपालिकास्तरीय भेला, प्रशिक्षण, भेटघाटजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विस्तारै विस्तारै चुनावी आमसभामा केन्द्रीत हुँदै दुई पार्टीवीचको गठबन्धन भएकाले संयुक्त भेला निर्वाचन परिचालक कमिटि गठन लगायतका कार्यक्रम गरिरहेका छौँ ।

तालमेल गरेर चुनावमा उत्रिदा कार्यकर्ताको मनोभावना कस्तो पाउनुभयो ? 
कार्यकर्तामाझ अत्यन्त उत्साह रहेको छ । यो उत्साह नागरिक तहसम्म पुगेको छ । कार्यकर्ता तहमा कसरी व्यवस्थापन हुन्छ भन्ने अन्योलमा कता कता भएको हुन सक्छ । त्यो पनि शिर्ष नेताहरुले टुंग्याउने कुरा भयो ।
22788648_10154703405261910_3573076883063410789_n
उत्साह हुनुपर्ने कारण त्यस्तो केही छ र ? 
नेपाली नागरिकहरुको कम्युनिष्टहरु एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने लामो समयदेखिको चाहना हो । तर, विविध कारणवस यो कुराले निरन्तरता पाउन सकेको थिएन । अहिले दुई प्रमुख घटकहरु एक ठाउँमा उभिएका छन् । त्यसैले नागरिकहरु सबैभन्दा खुशी छन् । दोस्रो कुरा नेपालमा परिवर्तनको नेतृत्व गर्ने पार्टी नै कम्युनिष्ट पार्टी हुन् । यो कुरा नागरिकलाई थाहा छ । बाहिरी प्रचारमा जे भएपनि फिल्डमा खट्ने, लाग्ने पार्टी कम्युनिष्ट पार्टी हो यो पार्टीले नै परिवर्तनकोनेतृत्व गर्न सक्छ भन्ने कुरा आम नागरिकलाई राम्रोसँग थाहा छ । तेस्रो कुरा प्रगतीशील फड्को मार्ने देशमा विकास निर्माण र सामाजिक सुरक्षासम्मको कुरामा अग्रगामी कुरामा कम्युनिष्ट पार्टीले मात्र अग्रगामी दृष्ट्रिकोण अगाडि सारेको छ । यसले मात्र यसको नेतत्व गर्न सक्छ भन्ने कुरा थाहा छ । चौथो कुरा हामी ६÷६ महिनामा सरकार परिवर्तन गर्ने प्रवृत्ति रहेको छ । त्यसमा पनि बाह्य हस्तक्षेप रहने कुरा छ । नेपाली जनता त्यसको अन्त्य गर्न चाहन्छन् । दीगो सरकार गठन गर्नेए र बाह्य हस्तक्षेप विरुद्ध यो एकता र गठबन्धनले अन्त्य गर्नेछ । पाँचौ कुरा राष्ट्रियताको सवालमा डटेर कुरा गर्ने वकालत गर्ने, राष्ट्रिय मुद्दामा एकजुट भएर अघि बढ्ने पार्टी नै कम्युनिष्ट हुन् । त्यसैले यिनीहरु मिल्दा राष्ट्रिय स्वाधिनता, अखण्डतामा सार्वभौमिकताको रक्षा हुन सक्छ भन्ने नागरिकले प्रत्यक्ष महसूस गरेका छन् । त्यसकारण नागरिकहरु इो गठबन्धनको पक्षमा छन् ।

चुनावी कार्यक्रम लिएर गाउँगाउँमा पुग्दा नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ? 
उहाँहरुको शुभेच्छा, शुभकामना मैले प्राप्त गरेको छु । तपाईहरु लाग्नुस् यसलाई सकारात्मक रुपमा अघि बढाउनुहोस् भन्ने शुभेच्छा रहेको छ । सँगसँगै प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै हुन लागेको छ । प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुने र हामी गठबन्धन बनाएर अघि बढिरहँदा निर्वाचनमा मतदान गर्ने कुरामा केही कन्फ्यूजहरु छन् । कसरी मतदान गर्ने के गर्ने, हाम्रो मत बदर त हुँदैन भन्ने कन्फ्युज छन् । यसलाई चुनावको क्रममा हटाएर लैजाने छौँ । अर्को कुरा विकास निर्माणमा यो तालमेलले थप टेवा पु¥याओस् र पहिलेजस्तो जितेर जाने र जनताको काम नगर्ने, मन्त्री बन्ने अनि नफर्कने कुरामा स्थिति नबनोस् र यी कुराहरुलाई चिर्न गठबन्धन सचेत भएर अघि बढोस् भन्ने चाहना रहेको छ ।

यो तालमेलप्रति कतिपय कार्यकर्ता र नागरिकहरु संसय व्यक्त गरिरहेका छन् नी ? एकता गाह्रो छ, दीर्घकालीन रुपमा एकता सम्भव छैन भन्नेहरु पनि छन्, के भन्नु हुन्छ ? 
केही भ्रम हुनु स्वभाविकै थियो । एकताका निम्ति, चुनाव आइसकेको थियो , त्यस्तो अवस्थामा हामीसँग दुई वटा बाटाहरु थिए । एउटा तत्काल एकता घोषणा गर्ने अनि निर्वाचनमा जाने । अर्को निर्वाचनमा सँगै जाने । निर्वाचन नजिकै आइसकेकोले तुरुन्त एकताको घोषणा गरेर जाँदा धेरै कुराहरु मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले त्यो त्यति सम्भावना थिएन । त्यसैले यी दुई वटा पार्टीहरुमा चुनावी तालमेल गर्ने र यो तालमेलाई चुनाव पछि पार्टी एकीकरणमा लगेर टुंग्याउने सहमति भएको छ । यस विचमा के प्रयाससम्म भयो भने हामी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उभिने कुरा पनि भयो । तर, यो कानुनी रुपमा त्यति सहज भएन र फरक फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छौँ । यसको मुल उद्देश्य भनेको पार्टी एक बनाउने नै हो । यसमा कुनै संसय छैन । पार्टी पंक्तिमा जुन उत्साह देखिएको छ यसले पार्टी एकता हुन्छ भन्ने कुरामा ढुक्क नै छ ।

एजेण्डगत हिसावमा त एमाले र माओवादी फरक फरक बाटोमा हिँडिरहेका छन् यसको समायोजन कसरी हुन्छ ? 
हो, मुल कुरा विचार र सिद्धान्तको कुरा हो । नेकपा एमालेले अंगिकार गरेको बहुदलीय जनवाद हो । यसलाई हामीले हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त भनेका छौँ । र माओवादी केन्द्रले अंगिकार गरेको एक्काइसाँै सताब्दीको जनवाद हो । यसका वीचमा खासै भिन्नता छैन । हामीले हिजो अस्तीमै भनेका थियौँ, जवजकै अर्को रुप हो । तर यसमा व्यवहारिक रुपमा सांगठानिक रुपमा केही फरक छन् । तत्कालीन कार्यनितिको बारेमा केही फरक पाटाहरु छन् । तत्कालीन समयमा जनयुद्धको आवश्यकता छैन, शान्तिपूर्णआन्दोलनको माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने एमालेको धारणा थियो, अन्तत माओवादीले त्यही ग¥यो । त्यसकारण यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । यसमा नेतृत्व पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा केही चुनौती छ । पार्टी एकीकरणका बेला यी सबै कुराहरु मिलाएर अघि बढ्छौँ ।

प्रसंग बदलौँ, नुवाकोटमा प्रदेशसभातर्फ उम्मेदवारी दिनुभएको छ, तपाईका एजेण्डाहरु के के छन् ? 
अहिलेको मुख्य एजेण्डा भनेको संविधान कार्यान्वयन नै हो । घोषणा भएको संविधानको व्यवहारिक कार्यान्वयन गर्नको लागि निर्वाचन जरुरी थियो । निर्वाचन पछि पनि यसलाई सही ढंगले कार्यान्वयन गर्नको लागि कम्युनिष्टकै सरकार आवश्यक छ । संविधान बनाउन जसले ठूलो योगदान दियो, उसैले मात्र संविधानको रक्षा गर्न सक्छ । फलानो प्रधानमन्त्री भएको बेला संविधान जारी भयो भनेर भन्ने गरिएको छ , संविधान जारी गर्ने अभिभारा संविधानसभा अध्यक्ष (सभामुख) को हो । संविधानसभाका नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र सहमत नभएका भए के संविधान जारी गर्न सम्भव थियो ? त्यस्तो अवस्थामा फेरी पनि संविधान जारी नहुन सक्थ्यो । धेरै एजेण्डाहरुमा हामी सहमत भएर गएका छौँ । दोस्रो कुरा संविधानमै उल्लेख भएको छ, यो संविधान समाजवाद उन्मुख छ । समाजवाद कम्युनिष्टहरुको नारा हो । त्यसैले यसलाई सही ढंगले लागू गर्नको लागि हामीले जित्नु आवश्यक छ । तेस्रो कुरा समृद्धिको कुरा हो । यो हामीले नै अघि सारेका हौँ । एउटा राजनीतिक आन्दोलन सकिएको छ, अव देशले नयाँ फड्को मार्नुपर्छ, देश आर्थिक विकास र उन्नतीको दिशामा अघि बढ्नुपर्छ त्यसको लागि विकास निर्माणको आन्दोलन नै अहिलेको आवश्यकता हो । हामी यही नाराका साथ जनतामाझ गइरहेका छौँ ।
22815164_1637518712935462_6052657076367818186_n
नुवाकोटको सन्दर्भमा के के योजना छ ? 
नुवाकोटमा हरेक पटक मन्त्री नछुट्ने जिल्लाको रुपमा चिनिन्छ तर, हाम्रो विकास निर्माणको गति हेर्ने हो भने लाजमर्दो अवस्थामा हामी रहेका छाँै । झुट्टा आश्वसन दिएर चुनाव जितेर जाने र संसदमा फोहोरी राजनीतिक गर्नमा यहाँका केही पार्टीका नेताहरु लागे । परिणाम स्वरुप नुवाकोटको विकासले गति लिन सकेन । नुवाकोटमा विकास र नागरिकहरु समृद्ध भए भने हाम्रो राजनीति सकिन्छ भन्ने भ्रम पनि दलका नेताहरुमा पाइन्छ । नुवाकोट सम्भावना रहेको जिल्ला हो । नुवाकोटमा विकास गर्ने ठूला र धेरै अवसरहरु छन् । यी अवसरलाई सदुपयोग गर्नको लागि पनि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नु आवश्यक छ । पछिल्लो समय चीनसँगको सम्वन्ध र केरुङ नाकाको विकासका कारण नुवाकोट धेरै चर्चामा रहेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएको १६ बुँदे सहमतिले नुवाकोटले धेरै फाइदा लिन सक्छ । त्यसको लागि पनि हाम्रो नेतृत्व आवश्यक छ ।

अर्को हामीले एउटा अभियान सुरु गरेका छौँ । प्रदेश नं. ३ को राजधानी नुवाकोटमा बनाइनु पर्छ भनेर भनेका छौँ । नुवाकोट विभिन्न हिसावले राजधानी बन्न लायक छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ । यसको लागि थुप्रै तर्कहरु हामीले अघि सारेका छाँै । प्रदेशको राजधानी बनाउने कुरा गठबन्धनका उम्मेदवारहरुले जितेनन् भने यो कुरा यही टुंगिने छ । मध्यपहाडी लोक मार्गमा वेत्रावतिदेखि धादिङको बैरेनीसम्म स्मार्ट सिटी बनाउने कुरा छ । हामी यो क्षेत्रलाई स्मार्ट सिटी बनाउनको लागि प्रयास गरिरहेका छौँ । हुन त धादिङ बैरेनीलाई आधुनिक सहर बनाउने चर्चा चलेको छ, तर, मध्यपहाडी लोकमार्गले अहिले त्यहाँ छुँदैन, त्यसैले पनि हामी बैरेनीबाट त्रिशूली खोलाको किनारैकिनार बेत्रावतिसम्म स्मार्ट सिटी बनाउन सक्छौँ । यो प्रदेशसभामा पर्ने बेलकोटगढी र विदुर नगरपालिकाको विकासको लागि हाम्रो पार्टी वा गठबन्धनको महत्वपूर्ण योगदान हुने छ । साथै सदरमुकाम सम्म हरेक गाउँपालिकाबाट पक्की सडकले जोड्ने गाउँपालिका केन्द्रसम्म हरेक वडाबाट पक्की सडक सञ्जालको विकास गर्नेलगायतका थुप्रै कार्यक्रमहरु हामीले घोषणा गरेर चुनावमा मतदातामाझ गइरहेका छौँ ।

मन्त्रीहरु धेरै भए तर विकास भएन भन्नु भयो ? किन विकास भएन जस्तो लाग्छ ?
मैले अघि पनि भनेँ, जनतामाझ झुटो आश्वसन दिने अनि पूरा नगर्ने, अर्को कुरा विकास र समृद्धिको लागि सोच नै उनीहरुसँग भएन र विकास भएन । यदि सोच भइदिएको भए नुवाकोट राजधानीसँग जोडिएको जिल्ला कति चाँडो विकास हुन्थ्यो, सोच र भिजन भइदिएको भए । यो मैले बताइरहनु पर्दैन । यतिसम्मकी यहाँका नेपाली कांग्रेसका नेताहरु अरुले गरेको काम जस लिनलाई नाग टाँसेझँै पसल पसलमा टाँसेर जनता झुक्याउँदै आएका छन् । अर्थ मन्त्री विष्णु पौडेल हुँदा नुवाकोटमा पहिलेको तुलनामा २० गुना बढी योजना र रकमहरु परेका छन् । तर,यी योजनाहरुलाई विफल बनाउन कांग्रेसका मित्रहरु लागिरहेको पनि हामीले देखेका छौँ । यसको उदाहरणको लागि पात्ले दुईपीपल सडकको टेण्डर भइसकेको काम फिर्ता गराउने काम भएको छ । यसले पछिल्लो समय राजनीतिलाई फटाई गरेर जालझेल गर्नेहरुका कर्तुतहरु बहिर आइरहेका छन् । केपी शर्मा ओलीको पालामा १७ वटा ग्रामीण सडकको स्तरोन्नती र ११ वटा सिंचाई योजना परेका छन् । यसको लागि कुनै कांग्रेसका सांसदले गरेर बजेट परेको होइन, कसैलाई प्रमाण चाहिन्छ भने म दिन तयार छु । तर, कांग्रेसका सांसदहरु शिर्षक परिवर्तन गर्ने र गाउँ गाउँवीचमा टकराव सिर्जना गरेर योजनाहरु ध्वस्त बनाउने अभियानमा लागेका छन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?
नुवाकोटका मतदाता अव धेरै शिक्षित भइसक्नु भएको छ । कम्युनिष्ट सिद्धान्त र सरकारले मात्र देशलाई आर्थिक समृद्धि, दीगो शान्ति र परनिर्भरताबाट हामीलाई माथि उठाउन सक्छ भन्ने । आम नागरिकको हितको लागि काम गर्ने कम्युनिष्टहरु नै हो । पटक पटक हामीले गरेको सानो गल्तीका कारण हामी पछि परिरहेका छौँ । त्यसैले यस पटक सुर्य चिन्हमा मतदान गरी मलाईसहित बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन सबै मतदातालाई विनम्र अनुरोध गर्दछु ।

No comments:

Post a Comment