Monday, November 6, 2017

परिवर्तन संस्थागत गर्न कांग्रेसको जित आवस्यक–डा. महत

नुवाकोट सन्देश समाचारदाता
विदुर, कार्तिक २० गते ।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा रामशरण महतले मूलुकमा भएको परिवर्तन संस्थागत गरी दिगो आर्थिक विकासका लागि नेपाली कांग्रेसको विजय आवस्यक रहेको वताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको छहरे, लिखु, चिसापानी लगायत स्थानमा चुनावी भेटघाट र सम्बोधनमा रहेका डा महतले   लोकतन्त्र, बहुलवाद, जनताका अधिकार, महिला तथा जातजातिका अधिकार, सामाजिक न्याय लगायत आर्थिक परिवर्तन र रुपान्तरणका लागि नेपाली कांग्रेसको विकल्प नरहेको वताएका हुन् ।
नुवाकोटको आर्थिक, सामाजिक विकासमा आफू सँधै क्रियाशिल रहेको स्मरण गर्दै नेता डा महतले लिखु, खानीगाउँ, चौघडा, लगायत क्षेत्रमा आफ्नो पहलमा विकासका पूर्वाधारहरु वनेकैले यस क्षेत्रको आर्थिक सामाजिक विकास लोभलाग्दो देखिएको वताए । वर्तमान वाम गठवन्धन सत्ता र शक्ति प्राप्तीका लागि मात्र भएको भन्दै डा महतले कम्युनिष्टबाट आर्थिक सम्बृद्धी सम्भव नरहेको वताए । नेता महतले भने –‘ एमाले र माओवादीहरु संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक नीति जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन । यो लोकतन्त्रका लागि ठूलो खतरा हो । विश्व राजनीति तथा आर्थिक परिवेशमा आएको परिवर्तनलाई उनीहरुले मनैदेखि स्वीकारेको देखिएन ।’
जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग तपस्या, बलिदान गरेको उल्लेख गर्दै नेता महतले  यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी दश बर्ष्भित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने , ‘जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्ने छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिँदैनन् । तर गठबन्धनभित्रको अन्तर्यका बारेमा जनतालाई स्पष्ट कुरा भनिदिनुपर्छ ।’
नेता महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । उनको भनाई थियो, सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं । हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ । तथ्यांक पेस गर्दै उनले भने – ‘उदार आर्थिक नीति अवलम्वन गरी स्वदेशी विदेशी पुँजी आकर्षित गरिएपछि अर्थतन्त्रमा ठूलो विस्तार आएको छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, विमान कम्पनी, सञ्चार सेवा, सडक यातायात, शुद्ध खानेपानी, विजुलीबत्तीमा पहुचमा विस्तार आएको छ । आर्थिक गतिविधिमा आएको विस्तारसँगै राजस्व असूली बढेको छ । ४८ सालमा वार्षिक १२ अर्बको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको छ । ४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको छ । सेवा विस्तारसँगै जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव भएको हो । ’
त्यसक्रममा कांग्रेसका प्रभावशाली नेता महतले नुवाकोटको समग्र विकासमा कम्युनिष्टको कुनै योगदान नरहेकाले आगामी निर्वाचनमा पनि नुवाकोटको विकासको सारथी नेपाली कांग्रेसले सबै क्षेत्रमा गर्विलो जित हासिल गर्ने बताए । ‘विपक्षीहरु अझै पनि कांग्रेस भित्र विवाद भए जितिएला भन्ने मृगतृष्णा पालिरहेका छन् । तर, नुवाकोटको कांग्रेस सम्पूर्णरुपमा एकताबद्ध रहेकाले उनीहरुको सपना सपनामै सीमित हुनेछ’, नेता महतको थप भनाइ थियो ।

No comments:

Post a Comment