Wednesday, April 24, 2024

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा, वैशाख १२ गते। बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ हुने दिन यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वैशाख २४ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहका बिच सम्बोधन गरेर प्रदेश सरकारी काम काजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रम तयभएको जानकारी दिनुभयो। 

उहाँले मन्त्रिपरिषद् बैठकले वैशाख २४ गतेबाटै प्रदेश सरकार, निकाय, मातहतका कार्यालयका साइनबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिने बताउनुभयो।

Tuesday, April 23, 2024

नुवाकोट सिन्दुरे जात्रा– भैरबी मन्दिर परिसरमा लिङ्गो ठड्याईयो

नुवाकोटको प्रचलित जात्रा सिँदुरे जात्रा अन्तर्गत विभिन्न क्रियाकलाप शुरु भएको छन् । जात्राको क्रममा सोमवार राती भैरवि मन्दिर परिसरमा लिङ्गो उठाईएको छ । जनप्रतिनिधी, नेपाली सेना र स्थानीयको सहभागितामा भैरबी मन्दिर परिसरमा लिङ्गो उठाईएको हो ।

सोमबार बेलुकी धामी नुहाउने, क्षेत्रपालमा गई महावनी लिने, रातको ८ बजे बुढी भैरवीमा तल्लो लिंगो उठाँउने र सोही ठाउँबाट यात्रा गर्दै बली चढाउँदै भैरवी मन्दिरको अगाडि आउने र नेपाली सेनाबाट माथिल्लो लिंगो ठढ्याउने, त्यसपछी निमन्त्रणा पूजा गरी राती भैरवी माई देवीलाई रथमा राख्ने लगायत क्रियाकलाप सञ्चालन भएका हुन् । बैसाख  ११ गते  साततले दरबारमा सिन्दुर हाल्ने र तुलजा भवानीको मन्दिरमा धामीबाट महाबली लिई धामी धमिनी, कुमार, गणेश, निसान गुठियार सहित भैरवीस्थान आई भैरवी माइको रथ उठाई बाजागाजा रकमी गुठियार सवै धरमपानी, बाराही, बट्टार इनारपाटी,बाडाचौतारो हुदै देवीघाट पुग्ने, सोही राती विधिपूर्वक पुजा गरी धामीलाई भोग दिएपछि पुर्णिमाको काम सम्पन्न हुने छ। 

२०८१ बैसाख १२ गते विहान ‘इही’ गर्ने, विधिपुर्वक पुजाआजा गर्ने बेलुका रथ धामी धमीनी देवीघाटबाट फर्कने, राती देवीघाट बाडाचौतारो–इनारपाटी–बट्टार–पुरानोबजार हुदै बाराहीबाट धरमपानीमा वैशाख १३ गते विहान आइपुग्नेछ । २०८१ बैसाख १३ गते दिनको ३ बजे विदुर २ धरमपानीबाट श्री भैरवी माइको रथ श्रीकाधामी, धमिनी, गणेश, कुमार गुठीयार बाजागाजा साजवाज निसान सहित आसागुर्जा टोली, सैनिक सुरक्षाका साथ भैरवी स्थान तर्फ प्रस्थान गर्ने, भैरवी माइको प्रांगणमा सिन्दुर हालेर तुलजा भवानीको मन्दिर पुग्ने, सोही रात भैरवी मन्दिर परिसर शितपाटी डवलीमा श्रीका धामीद्वारा भोग खानेछन् । २०८१ बैसाख १४ गते बेलुका साततले दरबार तुलजा भवानी मन्दिर परिसरमा विधि पुर्वक स्यावजी बाढिने छ । 

२०८१ बैसाख १८ गते वेलुका लामपाटीमा स्यावजी बाढिने छ । बैसाख १९ गते हनुमान ढोका कर्णेलचोकबाट आउनु भएको भगवतीलाई नागपानी भगवती थानमा विधि पूर्वक पुजाआजा गर्ने । बैशाख २० गते बेलुका भैरवीको विधि पूर्वक पुजाआजा गरी भैरवी भित्र्याउने । २०८१  वैशाख २१ गते विहान माथिल्लो लिंगो ढाल्ने । २०८१ वैशाख २२ गते विहान तल्लो लिंगो ढाल्ने।  उपरोक्त कार्यमा विभिन्न स्थानहरुमा बढाई सहित यस वर्षको श्री भैरवी माइको वर्ष बन्धन सिन्दुरे जात्रा पर्व समाप्त हुने जनाईएको छ ।


Monday, April 22, 2024

पिपलटारमा सप्ताह ज्ञान महायज्ञ शुरु

नुवाकोट । ९ बैशाख । नुवाकोटको विदुर ५ पिपलटारमा रहेको पिपलटार फुटसलमा सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । पिपलटार फुटबल क्लबले आयोजना गरेको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक सत्संग एवम प्रवचन कार्यक्रमको आईतवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका छन् । 

सप्ताह ज्ञान महायज्ञको पहिलो दिन आयोजक तथा स्थानीयले बाजागाजा सहित कलश यात्रा गरेका छन् । क्लवले एम्बुलेन्स खरिद तथा खेलाडी कल्याणकोष स्थापनाको सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको हो । 

१७ गतेसम्म सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले संगीतमय श्रीमद्भागवत महापुराण कथा प्रवचन गरिरहेका छन् । क्लवले दानविर महानुभावहरुलाई उचित सम्मान गर्दै नगद रु ५,०००  देखि शिलालेख सहित सम्मान पत्र दिने, रु १०,००० भन्दा माथि आजीवन सदस्यता, रु २५००० देखि दानविरहरुको श्रेयष्कर प्रमाणपत्र एवम अभिलेख राखिने, रु ५०,००० देखि माथि दानविर घोषणा गर्ने जनाएको छ । यस्तै,  १ लाख भन्दा माथि सहयोग गर्नेलाई मानार्थ प्रमाणपत्र प्रदान गरी एम्बुलेन्समा नाम समेत राखिने क्लवले जनाएको छ । 

सप्ताह ज्ञान महायज्ञको संरक्षकमा विदुर बजरपालिका र  सहसंरक्षकमा विदुर ५ वडा कार्यालय रहेको छ । 


Wednesday, April 10, 2024

औषधि पसल मापदण्ड विपरीत

 

नुवाकोटका अधिकांश औषधि पसल मापदण्ड विपरीत रहेको पाइएको छ । जिल्ला बजार अनुगमन समिति र औषधि व्यवस्था विभागका प्राविधिक सहितको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा औषधि पसल मापदण्ड विपरित पाईएको हो । 

विदुर नगरपालिकाभित्र सञ्चालित अधिकांश औषधि पसलहरूले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएपछि नगद जरिवानाका साथै तीन दिनभित्र औषधि व्यवस्था विभागमा सक्कल कागजातसहित उपस्थित हुन टोलीले निर्देशन दिएको छ । 

नियमविपरीत सञ्चालन भएको ६ वटा औषधि पसललाई नगद जरिवाना गरिएको छ । विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित २३ वटा औषधि तथा फार्मेसी पसलहरूको स्थलगत अनुगमन गरिएको हो । अधिकांश मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

मापदण्ड विपरीत रहेको पाइएपछि विदुर नपा १ त्रिशूली बजारमा रहेको रोशन मेडिकल हल, विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर वजारमा रहेको स्टार अस्पताल फार्मेसी, बट्टार बजारमा रहेको निको फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हललाई जनही १०÷१० हजार रुपैयाँ नगद जरिवाना गरिएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले बताए। उनका अनुसार जरिवाना तिरेपछि पहिले ताला लगाइएको पसल खुला गरिएको छ ।


वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन सुझाव

डढेलो, पूर्वाधार निर्माण, सवारीसाधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने लगायतका समस्या प्रत्यक्ष देखिन थालेका छन् । सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउनेलगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाउने गरेको पाइन्छ ।

  भरतपुर अस्पतालका फिजिसियन डा प्रतीक न्यौपानेले डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ ।” वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको उहाँको भनाइ छ । वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्छ ।” वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।  त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने डा न्यौपानेको भनाइ छ । भरतपुरका अस्पतालमा वायुमण्डको प्रभावका बिरामीको सङ्ख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

  भरतपुर आखाँ अस्पतालका नेत्र रोग विशेषज्ञ प्रा डा सुनु दुलालले वायुमण्डलमा भएको प्रदूषणका कारण टाउकोदेखि माथिका भागलाई असर गर्ने बताउनुभयो । उहाँका अनुसार आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने गर्दछ ।   आँखा पोल्ने तथा बिझाउने हुँदा आँखा मिच्न नहुने डा दुलालले बताउनुभयो । आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने उहाँको भनाइ छ । वायुमण्डलमा डढेलोका कारण अहिले देखिएको असरको दीर्घकालीन समस्या नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको उहाँले बताउनुभयो ।

डा दुलालले भन्नुभयो, “यसले दीर्घकालीन समस्या नपरे पनि यसबाट बाँच्नुपर्छ ।” यसबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा बेलाबेलामा सफा पानीले धोई रहने, चिसो कपडाले आँखाको बाहिरी भाग पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव छ । जिल्लामा रहेका सामुदायिक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ । यसले गर्दा वायुमण्डल मात्रै प्रदूषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनकोसमेत क्षति हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गरेको छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार डढेलो नियन्त्रणका लागि काम भइरहेको छ । समुदायमा सचेतना जगाउने र नियन्त्रणका लागि अग्नी रेखा कोर्ने, अग्नी नियन्त्रक सामान तयारी अवस्थामा राख्ने काम गरिएको उहाँले बताउनुभयो ।